‘बोक्सीको घर’ को प्रचारलाई जोडिए प्रकाश सपुत बनाए, ‘बुझिन मैले’


काठमाडौँ। अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को प्रचारका लागि प्रकाश सपुत तथा गायिका समीक्षा अधिकारीको युगल स्वरमा नायँ गीत रेकर्ड गरिएको छ।

सिनेमा आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको एक महिना समय रहँदा केकीको फिल्मका लागि सपुतको आफ्नै शब्द तथा संगीतमा ‘बुझिन मैले’ गीत तयार पारिएको हो।

गीतको हालै मात्र भिडियो छायांकन पनि पुरा भएको छ । गीतको भिडियोमा केकी नै फिचर्ड छिन् । फिल्ममा शीर्ष चरित्र निर्वाह गरेकी केकीलाई भिडियोमा पनि फिल्मकै लुक्समा अभिनय गराइएको छ । भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ ।

फिल्मको टिजर र ‘जिन्दगीको कथा’ बोलको गीतले चर्चामा आएको यो फिल्मको हाइप केही समयअघि सार्वजनिक ‘बोक्सी लुक्स’ले बढेको छ । आफ्नो फिल्मलाई अझ सशक्त रुपमा प्रचार गर्नका लागि अभिनेत्री केकीले गायक प्रकाश सपुतसँग मिलेर फिल्मको नयाँ गीत ‘बुझिन मैले’ तयार पारेकी हुन् ।
‘फिल्मको टिजर, गीत र बोक्सी लुक्सले दर्शकमा कौतुहलता जगाएको छ । यो गीत अझ सशक्त किसिमको छ’, केकीले भनिन् । यो गीत दर्शकका लागि नयाँ स्वादको हुने दाबी गायक प्रकाशले गरेका छन् ।

आठ वर्षअघि सोही नाममा मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर निर्माण गरिएको फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।
अभिनेत्री तथा निर्मात्री केकीका अनुसार यो सिनेमा सामाजिक थ्रिलर जनरामा निर्माण भएको र फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । फिल्ममा केकीसँगै सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।