अनमोलको जन्मदिनमा ‘फर्की फर्की’ को फस्टलुक सार्वजनिक


काठमाडौँ। अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर चलचित्र ‘फर्की फर्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको फस्टलुकमा अनमोल केसीलाई मात्र स्थान दिइएको छ ।

अनमोलका यसअघिका लभ स्टोरी फिल्मको पोष्टर भन्दा यो पोष्टर विल्कुलै फरक छ । फिल्मको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।

लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

चलचित्र ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसीको साथमा जसिता गुरुङको मुख्य भूमिका छ । साथमा चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक सुयोगकै कथा तथा पटकथा रहेको चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीको पाइपलाइनमा अन्य दुइ सिनेमा पनि रहेका छन्।