बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’मा भित्रीइन् गौरी


काठमाडौं । छिट्टै आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ मा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन् । शोका निर्देशकद्धय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन् ।

निर्देशक बिक्कीका अनुसार शोमा अभिनेत्री मल्लको शिर्ष भूमिका रहनेछ । तर कुन भूमिकामा अनुबन्ध गरियो भन्नेबारे भने खुलाएका छैनन् । सबै कलाकारको भूमिका केहिसमयपछि खुलाउने तयारी गरिएको उनले बताएका छन् । यसअघि अभिनेता बिजय बरालसँगै हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल अनुबन्धित भइसकेका छन् । अन्य केही कलाकार पनि फाइनल हुने चरणमा रहेको बताइएको छ ।

निर्देशक श्रृद्धाका अनुसार शोको यतिबेला सेटको काम भइरहेको छ । उनले अहिले आइरहेका टेलिभिजन कमेडी शो भन्दा केहि फरक गर्ने प्रयासका साथ टिम जुटेको बताएकी छिन् । यो पारिवारीक कमेडी शो हुनेछ । शो प्राइम टेलिभिजनमार्फत प्रसारण हुनेछ । शोको प्रसारण मिति तोकिएको छैन तर छिट्टै आउने बताइएको छ । बिक्कीले यसअघि ‘आम्मा कसम याँ दुख्छ’को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’को निर्देशन पनि गरेका थिए ।