सेलिब्रेटी नेपाल काठमाडौँ
डडेल्धुराका क्रान्तिकारी योद्धा भीमदत्तको कथालाई प्रमुख विषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘भीमदत्त’लाई नेपाली राजनीतिका शीर्ष नेताहरुले बिहीबार हेरेका छन्। राजधानीको कुमारी सिनेमामा आयोजित विशेष प्रदर्शनीमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, पूर्व गृहमन्त्री भीम रावल, नेपाल सद्भावना पार्टीका राजेन्द्र महतो, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’लगायतको सहभागिता रहेको थियो।

चलचित्र हेरेपछि एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले चलचित्र ले क्रान्तिकारी योद्धाको कथालाई ज्वलन्त रुपमा प्रस्तुत गरेको बताए। काँग्रेस नेता देउवाले फिल्मले भीमदत्तको वास्तविक चरित्रलाई पर्दामा प्रस्तुत गरेको दाबी गरे। माओवादी नेता वैद्यले फिल्ममा भएको क्रान्तिकारी पक्षको पाटो आफुलाई राम्रो लागेको जनाए।
ऐतिहासिक तथा सत्य कथामा आधारित यस चलचित्र ‘भीमदत्त’मा नवल खडका, निशा अधिकारी, सुमीना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना लगायतका कलाकार हरुको अभिनय रहेको छ। गोल्डेन आइ फिल्म प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक हिमग्याप टासी लामा हुन। शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका छन् भने कथा मणी थापाको रहेको छ।




