चलचित्र ‘रङ्गेली’ को गीत ‘फूल ओइलिएर’ सार्वजनिक


काठमाडौं। गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज गरिएको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ । चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन् ।

शुक्रवार देखि बिहीबारसम्म आइपुग्दा यो चलचित्रले राम्रै दर्शक पाइरहेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । बुधवार दिउसोका शोहरू सन्तोसजनक र साँझका शोहरू हाउसफुल थिए ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

नेपाल रिलिजपछि यो चलचित्र अमेरिका, क्यानडा, जापान, कोरिया, मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने पक्का भइसकेको छ । त्यस्तै, अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको बताइएको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

सुशन प्रजापतिले छायांकन गरेको चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।