‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक


काठमाडौं । चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिनेछन् । उनीहरुले फिल्ममा विशेष भुमिका निर्वाह गरेका छन् ।

गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । शिव विकको कोरियोग्राफी रहेको गीतमा विनोद सापकोटाको छायांकन छ ।

सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् । शोभित बस्नेत निर्देशित फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक बस्नेत स्वयं देखिएका छन् ।

फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने फिल्म काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायाङ्कन गरिएको हो । चलचित्र चैत्र २३ गतेबाट प्रदर्शनमा आउनेछ।