चलचित्र उपहार,काँडेतार र रङ्गेली प्रदर्शनमा


काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार) बाट एकसाथ तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ एकैदिन आजबाट प्रदर्शनमा आएका हुन् ।

ठूला मानिएका विदेशी फिल्म प्रदर्शन हुने मितिमा आफ्नो फिल्म रिलिज गर्न डराउने नेपाली निर्माताहरू एकआपसमा भिड्न भने तयार देखिँदै आएका छन् ।

यसपटक पनि महाशिवरात्रि र त्यसपछि पनि केही दिनको सार्वजनिक बिदालाई हेरेर निर्माताले फिल्म रिलिज गरेका हुन् । योसँगै हलमा धेरै समयपछि नेपाली फिल्मबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

प्रदर्शनमा आएका ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’ तीनवटै प्रतीक्षित मानिएका चलचित्र हुन् । तीनवटै चलचित्र विभिन्न कारणले चर्चामा रहँदै आएका छन् । रेखा थापाको चलचित्र ‘उपहार’लाई गतवर्षको हिट फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

प्रस्तुतकर्ता र निर्देशकका हिसाबले मात्रै होइन, यो चलचित्रमा कलाकारहरू समेत चलेका छन् । रेखा स्वयंमका साथमा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जङ्गकार्की लगायतका कलाकारहरू यसमा देखिएका छन् । यो फिल्म नारीलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । जीवनको यात्रामा आउने उतारचढावको कथा यसले पेस गर्छ ।

नवल खड्काको ‘काँडेतार’ राष्ट्रियताको विषयमा आधारित रहेर निर्माण भएको फिल्म हो । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेर खड्काले यो फिल्म बनाएका हुन् । चलचित्र को शीर्ष भूमिकामा उनी स्वयंम छन् । साथमा, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतको अभिनय छ ।

चलचित्र ‘रङ्गेली’मा ब्लकबस्टर फिल्म खेलेका जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर शीर्ष भूमिकामा छन् । यो ग्याङ्स्टर फिल्म हो । यसलाई एक्सन र ड्रामा जनरामा राखिएको छ । अर्जुन सुवेदीको निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित अर्पण थापा, प्रवीण खतिवडा, रुपेश झा, सुन्दर धिताल, सन्तोष सरकार लगायतको अभिनय छ । फिल्ममा संसार चौलागाईं र रमेश भट्टराई (वशिष्ठ) निर्माताका रूपमा छन् ।