लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’ को छायांकन सम्पन्न



काठमाडौँ। घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लन्डन टु पेरिस’ को छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको चलचित्रको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक लामिछानेले दिए ।

निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो । आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । चलचित्रको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ ।

‘एक वर्षपछि सम्पूर्ण छायाँकन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु । कहिलेकाँहि सिनेमा ढिला हुँदा सिनेमा रोकिने नबन्ने गरेकोमा ढिला नै भएपनि हामीले सिनेमा पूरा गर्न सक्यौं । यसमा म खुशी छु’, लामिछानेले भने ।

गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भुमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमा यही चलचित्रबाट डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह छन् ।