बाफ्टा अवार्ड वितरण गर्न दीपिका पादुकोण लन्डन जाने


काठमाडौं। बलिउड अभिनेत्री दीपिका पादुकोण ‘बाफ्टा प्रेजेन्टर’को रुपमा मनोनित भएकी छन् । बाफ्टा अवार्डको यो संस्करणमा यी बलिउड डिभाले इङ्ल्याण्डका फुटबल स्टार डेभिड बेकह्याम, हलिउड अभिनेत्री केट ब्लान्चेट र अमेरिकी गायिका दुआ लिपासँगै अवार्ड वितरण गर्ने जनाइएको छ ।

७७ औं बाफ्टा अवार्ड आगामी शनिबार बेलायतमा आयोजना हुँदैछ । लण्डनको रोयल फेस्टिभल हलमा अवार्ड वितरण समारोह आयोजना गरिएको छ ।

यो प्रतिष्ठित अवार्डमा ‘साल्टबर्न’ स्टार ब्यारी केओघान, ‘माएस्ट्रो’ अभिनेता ब्राडली कूपर र केरी मुलिगन, ‘ओपेनहाइमर’ अभिनेता किलियन मर्फी र निर्देशकहरू ग्रेटा गेर्विग, क्रिस्टोफर नोलन, सेलिन गीत र योर्गोस ल्यान्थिमोस समावेश हुनेछन् । सन् २०२३ को ओस्कार अवार्डमा पनि दीपिकाले भारतीय सिनेमाको प्रतिनिधित्व गर्दै पुरस्कार बाँडेकी थिइन् ।

बेलायतमा आयोजना हुने यो अवार्ड ओष्कार अवार्ड पछिको संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा हलिउड सहित विभिन्न युरोपियन फिल्महरु पनि चयन भएका छन् । जसमा नेपाली चलचित्र ‘गोर्खा वारियर’ पहिलो पटक बाफ्टाको लागि चयन भएको छ । यो अवार्डका लागि बेस्ट फिल्म, डिरेक्टर, एक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म विधामा चलचित्र ‘गोर्खा वारियर’ले प्रतिस्पर्धा गर्नेछ।