केकीको चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा



काठमाडौँ। अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो । केकीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर गरिएको छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गरेका हुन् ।

चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

केकी स्वयंम निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।