प्रेस चौतारी नेपालले गर्यो ६ पत्रकारलाई पुरस्कृत



काठमाडौं। प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । २६औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पुरस्कृत ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन् ।

यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिएको छ । यसिमा महतलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो । पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ । यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्वबरिष्ठ उपाध्यक्ष एवं जनप्रशासन डटकम र जनप्रशासन पाक्षिकका प्रधान सम्पादक माधव नेपाललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ३५ हजार ३५ रुपैयाँ रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्टका रौतहट समाचारदाता फणिदेव महत डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर सम्वाददाता रुकुमपूर्व निवासी महेश केसी र सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिएको छ । यी तीनवटै पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ ।

बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहेको सिफारिश समितिले पुरस्कृत पत्रकारको नाम छनोट गरी सिफारिश गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष पौडेलसहित एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुरस्कृत पत्रकारहरुलाई सम्मानपत्र, माला र चेक हस्तान्तरण गर्नुभएको थियो ।