राजु गिरी निर्देशित ‘इश्वर’को पोखराबाट छायाँकन सुरु



पोखरा। गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको चलचित्र ‘इश्वर’ को शुटीङ्ग शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनी मन्दिरमा ‘इश्वर’ को छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले चलचित्र मार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

आफु मन्त्री हुँदा प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्ने प्रक्रियाको सुरुवात भई नीति तथा कार्यक्रममा समेत समेटिएको र पछि राजनीतिक उताडचढावका कारण अगाडि बढ्न नसकेको उनले उल्लेख गरे । चलचित्रकर्मीहरुले पहल गरे प्रदेशमा विकास बोर्ड गठन पनि हुने उनले बताए । जसका लागि आफु सदैव साथमा रहेको भनाई उनको छ ।

कलाकार सुनील थापाले विन्ध्यवासिनी मन्दिरमा आफुले ‘चिनो’ चलचित्रको छायाँकन पछि पाइला टेकेको सम्झना गरे । ‘इश्वर’ को स्किृप्ट मन परेकाले आफु अनुबन्धित भएको भनाई उनको छ । माओत्से गुरुङले पोखरामा पछिल्लो समय एक पछि अर्को चलचित्र छायाँकन भइरहेको र यो पोखराका लागि राम्रो कुरा भएको बताए ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा कलाकार पृथ्वीराज प्रसाई, ध्रुव बहादुर थापा,कृष्टी गुरुङ,सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, माओत्से गुरुङ,रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारी लगायतको अभिनय रहनेछ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।