सविरको निर्देशनमा ‘रुखान’को घोषणा



काठमाडौँ। निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ चलचित्रको घोषणा गरिएको छ । सविरको निर्देशनमा चलचित्र ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई ४ वटा भाषामा निर्माण गरिने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ ।

कृष्ण थापा र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रूपक घिमिरेको कथा रहेको छ । चलचित्रका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ ।

चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको विषयमा निर्देशक सविर श्रेष्ठले भने–‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरूको समस्यालाई भन्ने प्रयास गर्नेछौँ ।’ चलचित्रको मुख्य पात्रमा महिला कलाकार हुने सविरको भनाई छ । उनका अनुसार, कलाकारहरू फाइनल गर्ने क्रम जारी छ ।