राष्ट्रिय लोकसंचारकर्मीको १५ औं बार्षिक उत्सव सम्पन्न



काठमाडौं । राष्ट्रिय लोकसंचारकर्मी नेपालको १५ औं बार्षिक उत्सव सम्पन्न भएको छ । राजधानी काठमाडौँमा शनिवार एक समारोहकाबीच १५ औं बार्षिक उत्सव सम्पन्न भएको हो । नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाले नेपाली लोकगीत , लोकसंस्कृति हिजो र आज विषयक अन्तरक्रिया समेत गरेको छ । यस्तै संचारकर्मी तथा इन्द्रेणी सांस्कृतिक संस्थानका अध्यक्ष सामाजिक अभियन्ता कृष्ण कँंडेललाइ नगद ५ हजार ५५५ रुपैयाँ सहित गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको संस्थाका उपाध्यक्ष हरी दुलालले बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलपति शर्माले नेपाली लोकसंगीतको खोज अनुसन्धानको लागि सशक्त तवरबाट कार्य गर्न नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठा लागिरहेको बताइन्। अन्तरक्रिया कार्यक्रमका वक्ता वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले लोकगीतमा मौलीकता हराउँदै गएको र भाइरल हुनका लागि ल्याइएका संगीतले संगीत क्षेत्रका लागि न्याय नगर्ने बताए । गीतकार, साहित्यकार तथा वरिष्ठ रेडियोकर्मी डा. नवराज लम्सालले लोकगीतमा विकृति आयो भनेर रोइलो गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिए । कार्यक्रमा देउडा गीतका ज्ञाता तथा वरिष्ठ गायक नन्दकृष्ण जोशी, वरिष्ठ गायक तथा काठ क्षेत्रका जानकार ध्रुवराज खड्का र गीतकार तथा सङ्गीतकार एक नारायण भण्डारी लगायतले वास्तविक स्रष्टाले रोयल्टी पाउने अवस्था नरहने हो भने मौलिक गीतहरु पनि हराउँदै जाने भन्दै चिन्ता व्यक्त गरे । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संचारकर्मी तथा कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.