निःसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा हो : दयाहाङ



काठमाडौं। आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दयारानी’को बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । चलचित्रको पत्रकार भेटघाट कार्यक्रमका चलचित्रका मुख्य कलाकार दयाहाङ राई, दीया पुन र विजय बराल र बाँसुरी फिल्मस्का तर्फबाट मणिराम पोखरेल उपस्थित थिए ।

पत्रकार भेटबाट कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाहित निःसन्तान जोडीलाई समाजले दिने दबाब नै ‘दयारानी’को मुख्य कथा भएको बताए । उनले विवाह भएर पनि सन्तान नभएपछि समाजले कसरी दबाब दिन्छ, त्यो चलचित्रमा हेर्न सकिने जानकारी दिए ।

दयाहाङ अगाडी भन्छन्, ‘बनेको हिसाबले ‘दयारानी’ पुरानो हो । यो सिनेमा ५ वर्ष अगाडि नै बनेको थियो । तर, यसको कथा वर्षौंसम्म पनि ताजा रहन्छ भन्ने मलाई लाग्छ । यो सिनेमाको स्वाद फरक छ । यसैले दर्शकलाई पनि फरक लाग्न सक्छ । समाजले सन्तान नहुँदा दबाब दिन्छ । त्यस्तो अवस्थामा पुरुष चुपचाप बस्छ । तर महिलाले दबाब झेल्नुपर्छ’, उनले भने, ‘सन्तान नहुनुलाई समाजले चासोको रूपमा हेर्छ, त्यो कथा हाम्रोचलचित्रले उठाएको छ ।’

चलचित्रकी मुख्य अभिनेत्री दीया पुन दयारानीले उठान गरेको विषय धेरै जनाको व्याक्तिगत जीवनसँग मेलखाने बताइन् । ‘यो हाम्रो समाजको कथा नै हो । यो समस्या धेरैले भोगेको म आफैंले देखेकी छु’, अभिनेत्री पुनले भनिन्, ‘नेपाली महिला वास्तवमा अन्य देशकाभन्दा निकै सहनशील छन् भन्ने लाग्छ । सायद विदेशी महिलाले यस्तो समस्या फेस गरेर बस्दैनन् । अहिलेको अवस्थामा समाज विज्ञानका हिसावले पनि निकै एडभान्स भैसकेको छ । बच्चा जन्माउने अनेक प्रविधि बनिसकेका छन् । तरपनि दयारानीको कथाले दर्शकलाई भावुक बनाउँछ र सोच्न बाध्य पार्छ ।’

चलचित्रका अर्का मुख्य कलाकार विजय बरालले समाजमा हरेक खालका व्यक्ति भएकैले समाज र प्रकृति चल्ने गरेको बताए । सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने आशा अभिनेता बरालको छ । माओत्से गुरुङको डेब्यू निर्देशन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ, दीया, विजय का अलावा प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । चलचित्रको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । चलचित्रलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।