ऋषिराजको छैटौ चलचित्र ‘द्रौपदी’ को लागी कलाकार खोजी



काठमाडौँ । २ वर्ष अगाडि चलचित्र‘चुरीफुरी’ प्रदर्शनमा ल्याएका निर्देशक ऋषिराज आचार्यले नयाँ चलचित्र घोषणा गरेका छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘द्रोपदी’ हो । चलचित्रको अहिले लेखन तथा कलाकार सेलेक्सन भइरहेको निर्देशक आचार्यले जानकारी दिए ।

चलचित्रका लागि कलाकार छनौट गर्न उनले यही माघ २० गते अडिसन राखेका छन् । मुख्य अभिनेता/अभिनेत्री सहित १० जना कलाकारका लागि अडिसन हुन लागेको हो । चलचित्रको कथा र चरित्र अनुसार अडिसनबाट कलाकार छनोट गर्न लागिएको निर्देशक आचार्यले सुनाए ।

शीर्षकले चलचित्र ‘महाभारत’को द्रौपदी पात्रसँग मिले पनि देशको यथार्थपरक कथामा चलचित्र बन्न लागेको आचार्यले बताए । कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको चलचित्र महिला प्रधान हुने जनाइएको छ ।

आर.बी मुभिजको ब्यानरमा बन्न लागेको चलचित्रमा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ । अहिले चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्य रहेका आचार्यले ‘मिस्टेक’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘चुरीफुरी’ गरेर ५ चलचित्र निर्देशन गरिसकेका छन् ।