‘रङ्गेली’को पहिलो गीत सार्वजनिक, शिल्पा र प्रिन्सको ठुम्का



काठमाडौँ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने चलचित्र ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । शनिवार सार्वजनिक गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ ।

भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले नृत्य गरेका छन् । भिडियोको बिच बिचमा चलचित्रका दृश्यहरू राखिएका छन् । कोरियोग्राफी शिशिर खातीले गरेका छन् ।

यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । ‘रङ्गेली’मा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकार सहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।