काठमाडौं । चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीको रुपमा गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सर्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोल रहेको गीत चलचित्रको प्रमोशनका लागि तयार गरिएको हो ।
केही समय अगाडि खुल्लामञ्चमा सेट लगाएर छायांकन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा सिनेमका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।
अरुण र आश्मा गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । सिनेमामा ‘सुहाउँदो गीत भएकाले राखिएको हो । यसलाई हामीले प्रचार प्रसारका लागि तयार गरेका हौँ’, निर्देशक भट्टराईले भने । एक सय भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । चलचित्रमा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ ।
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपक प्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।