चित्रा पारिवारिकसँगै साथीत्वको कथा हो: निर्देशक लामिछाने



काठमाडौँ। आगामी शुक्रवार अर्थात यही पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’लाई निर्माण पक्षले बाबु छोरीको पारिवारिक कथा भन्दै प्रचार गरिरहेको छ । बिहीबार पत्रकारसँगको अन्तर्क्रियामा निर्देशक घनश्याम लामिछानेले यो चलचित्र बाबु छोरीको कथामा मात्र सीमित नरहेको बताए ।

उनले यसमा पारिवारिकसँगै साथीत्वको कथा र महिला प्रधानतालाई पनि प्राथमिकता दिएको बताए । आफूलाई अघिल्ला चलचित्र नाटक जस्तो देखिएको आरोप लागे पनि त्यो गलत भएको दाबी गरे । “नाटक त म नाटक घरमा बनाउँला । थिएटरका दर्शकलाई त चलचित्र नै हो”, उनले थपे, “चित्रामा ‘लार्जर देन लाइफ’ हेर्न पाउनुहुनेछ ।”

निर्माता तथा यसै चलचित्रमार्फत अभिनेता बनेका सन्तोष अधिकारीले चलचित्रले लगानी उठाउनेमा आफू ढुक्क रहेको बताए । यसअघि ‘आमा’, ‘घर’ जस्ता चलचित्रमा सहायक निर्माता रहेका सन्तोषले आफूले निभाएको पिताको चरित्रले धेरैलाई जोड्ने दाबी गरे ।

अर्का अभिनेता प्रमोद अग्रहरीले एउटा सानो घटनाले मानिसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने चरित्र आफूले निर्वाह गरेको बताए । उनले आफूलाई क्यामराको अगाडि मात्र रिसाउन र मार्न आउने गरेको उल्लेख गर्दै अन्य चरित्र पनि चित्रामा हेर्न पाउने खुलाए ।

चलचित्र ‘चित्रा’ मा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

महेश पौडेलले छायांकन गरेको चलचित्रलाई बनिश शाह र सन्देश शाहले सम्पादन गरेका हुन् । सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको ब्यानरमा निर्माणमा भएको चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.