चलचित्र निर्देशकहरुले सिके प्रतिलिपि अधिकारका कुरा


(सेलिब्रेटी नेपाल) ५ पौष-नेपाली फिल्मका निर्देशकलाई प्रतिलिपि अधिकारका सम्बन्धमा जानकारी गराउने उद्देश्यले ‘चलचित्र र प्रतिलिपि अधिकार’ शीर्षकमा एक दिवसीय गोष्ठी गरेको छ। चलचित्र निर्देशक समाजले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयसँगको सहकार्यमा बिहीबार राजधानीको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा गोष्ठी गरेको हो।
Nepali-movie-director
गोष्ठीमा फिल्मको मुख्य सर्जक निर्देशक नै भएको दुविधा नभए पनि प्रतिलिपि अधिकारमा निर्माताको भूमिका चाहिँ के हुने भन्ने चासो धेरैले व्यक्त गरेका थिए।
गोष्ठीमा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले प्रतिलिपि अधिकारको दायराका सम्बन्धमा व्यापक छलफल हुनुपर्ने आवश्यकता औंल्याए। ‘कलाकारले पारिश्रमिक लिइसकेपछि फेरि फिल्मको बौद्धिक अधिकारको हक माग्ने कि नमाग्ने भन्ने विषय टुंगो लगाउन सजिलो छैन। यसका लागि बृहत् छलफल हुन जरुरी छ,’ खड्काले भने।

त्यसैगरी नेपाल चलचित्र निर्माता संघका महासचिव केशव भट्टराईले प्रतिलिपि अधिकारमा निर्देशक तथा कलाकारको दाबी लाग्ने हो भने निर्माताले फिल्मका लागि सम्पूर्ण लगानी गर्नेहुनाले घाटा हुँदा चाहिँ उनीहरुको भूमिका के हुने भन्दै चासो व्यक्त गरेका थिए।’मैले ‘सो सिम्पल’बाट मात्रै ५० लाख डुबाएँ। अब यो घाटामा प्रतिलिपि अधिकारमा दाबी लाग्नेहरुले सहभागी हुनुपर्छ कि पर्दैन?’ भट्टराईको जिज्ञासा थियो।

कार्यक्रममा मन्तव्य राख्न आएका नीर शाहले भने चलचित्र बिकास बोर्ड निकम्मा भएको भन्दै खारेजीको माग गरेका थिए। उनले बोर्डले कुनै पनि कुरामा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेकाले बोर्ड खारेज हुनुपर्ने र यसका लागि आफूले नवगठित संसदमा जोडदार रुपमा माग उठाउने विचार राखेका थिए।

पाको उमेरदेखि भर्खरका निर्देशकहरुको उपस्थिति रहेको कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका विशुकुमार केसीले ‘प्रतिलिपि अधिकार र व्यवस्था’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए भने चलचित्र बिकास बोर्ड सदस्य निलहरि काफ्लेले ‘प्रतिलिपि अधिकार : चलचित्र र निर्देशकहरुको प्रतिलिपि अधिकार’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। चलचित्र विकास बोर्डका प्रशासकीय अधिकृत अनुपम निरौलाले भने प्रतिलिपि अधिकार र पाइरेसीलाई जोडेर कार्यपत्र प्रस्तुत गरेका थिए।

चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले निर्देशकहरुमा प्रतिलिपि अधिकारका सम्बन्धमा चेतना प्रवाहित गर्न गोष्ठीको आयोजना गरेको बताए। ‘फिल्म निर्देशकको माध्यम भएकाले यसमा निर्देशकको अधिकार गाँसिएको हुन्छ। तर हामीमध्ये धेरैमा यो विषयमा चेतना छैन। सबैमा यो विषयमा चेतना होस् भन्नाका खातिर हामीले कार्यक्रम आयोजना गरेका हौं,’ डिसीले भने।
नागरिक बाट साभार

Copyright © 2012 - 2026 | All Right Reserved.