चलचित्र संग सम्बन्धित संस्थाहरुले दिए बोर्ड स्वायत्तता हुनुपर्ने सुझाव



काठमाडौँ । चलचित्र क्षेत्रका विभिन्न ८ संस्थाले प्रस्तावित चलचित्र विधेयकमा चलचित्र विकास बोर्डले मागेको सुझाव पेस गरेका छन् । शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई भेटेर उनीहरुले लिखित रूपमै सुझाव पेस गरेका हुन् ।

संघसंस्थाले बोर्डमा बुझाएको सुझावमा चलचित्र विकास बोर्ड स्वायत्तता लगायत विभिन्न माग छन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बोर्डमा बुझाएको सुझावमा विकास बोर्ड स्वायत्तता, नेपाली चलचित्रको प्राथमिकता, वर्गीय संघसंस्थाको अस्तित्व लगायतलाई प्राथमिकता राखेर सुझाव दिएको बताए । बोर्डमा राजनीतिक हस्तक्षेप रोक्न चलचित्र सम्बद्ध संस्थाको सिफारिसमा पदाधिकारी नियुक्ति गर्नुपर्ने र संस्थागत निर्णयलाई स्विकार्नु पर्ने समेत सुझावमा दिएको निरौलाको भनाई छ ।

सुझाव लिँदै बोर्डका अध्यक्ष केसीले चलचित्र क्षेत्रका विज्ञ र विशिष्ट व्यक्तिको रायसुझाव लिएर मात्र मन्त्रालयमा पेस गर्ने बताए । सुझाव बुझाउने संस्थाहरुमा चलचित्र संघ, निर्माता संघ, निर्देशक समाज, कलाकार संघ, आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, प्राविधिक संघ, द्वन्द्व कलाकार संघ र नृत्य संघ रहेका छन् ।

बोर्डले केही महिनाअघि सार्वजनिक भएको मस्यौदामा चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाएका थिए । संघ संस्थाको विरोधपछि बोर्डले मस्यौदाको विषयमा राय सुझाव मागेको थियो ।