उत्कृष्ट नृत्य निर्देशकको अवार्ड सुनिललाई



काठमाडौं । नृत्य निर्देशक सुनिल गिरीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड प्राप्त गरेका । उनले काठमाडौंमा सम्पन्न भएको ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ समारोहमा उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । दर्जनौं भिडियो निर्देशन र ‘घातक मान्छे’, ‘बनबास’, ‘अन्त्य, ‘ज्यानमारा’, ‘प्रतिघात’ जस्ता आधा दर्जनजति चलचित्रमा गिरीले नृत्य निर्देशन गरिसकेका छन् ।

नेपालकै पहिलो नृत्य निर्देशक एवं नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा र एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाँचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रमको मनोनितका लागि निर्णयक समूहमा नृत्य निर्देशकहरू शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहनुभएको थियो भने अन्तिम फाईनलका लागि निर्णयकहरूमा वरिष्ठ नृत्य निर्देशकहरू भुवनदास श्रेष्ठ, कमल राई, डा.आर.सी.कोइराला, रोचक थापा, जोगेन्द्र केसी र प्रदीपरमण सिंह डंगोल रहेका थिए ।