सिएनएन हिरो बस्नेतबारे बनाइएको ‘वेटिङ फर मामु’ न्युयोर्कमा


(सेलिब्रेटी नेपाल) २९ कार्तिक-सिएनएन हिरो २०१२ पुष्पा बस्नेतले आफ्ना अभिभावकसँगै जेलमा रहेका बालबालिकाहरुलाई उद्धार गरेर आमाको रुपमा हेरचाह गरेको कार्य समेटेर तयार पारिएको डकुमेन्ट्री फिल्म ‘वेटिङ फर मामु’ न्युयोर्कमा प्रदर्शन भएको छ। न्युयोर्क युनिभसिर्टी (एनवाईयु) र ह्वाईट हिमाल टेलिभिजनको संयुक्त आयोजनामा भएको प्रदर्शनमा फिल्मका निर्माता सुसान सुरेन्डन र निर्देशक थोमस मोर्गनले फिल्म निर्माण गर्नुको कारण र आफ्ना अनुभवहरु सुनाएका थिए।
Waitiang-for-mamu
वेटिङ फर मामुमा सिएनएन हिरो बस्नेतका सामााजिक जिवनको यात्राको साथै उनले संरक्षण गरेर राखेका बालबालिकाको अनुभव समेटिएको छ। सानो उमेरदेखि नै समाजसेवामा लागेकी बस्नेतले वेटिङ फर मामुमा आफूले चाहेर पनि एउटा अलग्गै घर बनाउन नसक्दा जेलभित्र रहेका अन्य बालबालिका बाहिर ल्याउन नसकेको अनुभव सुनाएकी छन्। करिब एक घण्टाको डकुमेन्ट्री फिल्ममा बालबालिकाले अभिभावक गुमाउँदाको पिडा र पुष्पा बस्नेतले गरेको मायाको बारेमा भावनात्मक रुपमा अनुभब सुनाउँदा हलमा रहेका अधिकाशं दर्शकको आँखामा आँशु देखिन्थ्यो।
puspa-basnet-mamu
पुष्पा बस्नेतले बालबालिकाहरुको उचित संरक्षण गर्न र जेलमा रहेका अन्य बालबालिकाहरुलाई पनि बाहिर ल्याएर संरक्षण गर्ने उद्धेश्यका साथ निर्माण गर्न खोजेको आमाको घरका लागि आथिर्क सहयोग संकलनका साथ डकुमेन्ट्री फिल्मको प्रदर्शन गरिएको निर्देशक मोर्गनले बताएका छन्। बस्नेतले गरेको असल कार्यलाई प्रोत्साहन दिन र थप सहयोग प्राप्त हुने अपेक्षाका साथ न्युयोर्कमा प्रदर्शन गरिएको ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्काले जानकारी दिए।

Copyright © 2012 - 2026 | All Right Reserved.