सय वर्ष बाँच्न चाहन्छन हरिबंश !


(सेलिब्रेटी नेपाल) २८ कार्तिक-कलाकार हरिवंश आचार्यले आफ्नो ५६ औं जन्मदिनको अवसरमा सय वर्ष बाँच्ने इच्छा व्यक्त गरेका छन्। एफएम रेडियो अडियोले बुधबार गरेको जन्मदिन उत्सवमा हरिवंशले सो इच्छा व्यक्त गरेका हुन्।’बल्ल रमिलासँग मेरो नयाँ जिन्दगी सुरु भएको छ । अब कमसेकम ३५–४० वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने लागेको छ । राष्ट्रकवि माधव घिमिरे र सत्यमोहन जोशीको उमेर देखेर पनि त्यो उमेरसम्म बाँच्न पाए हुन्थ्यो भन्ने लागेको हो,’ हरिवंशले भने । रेडियो अडियोकै कार्यकक्षमा भएको जन्मोत्सवमा थुप्रै कलाकारहरुले पनि हरिवंशलाई दीर्घायुको कामना गरे ।
Haribansha-acharya-ramila-acharya
‘मदन दाइ र तपाईंकै कारण यो हास्य क्षेत्रले सम्मान पाएको छ । मदनकृष्ण हरिवंशले झैं मान्छेलाई हँसाएर मनोरञ्जन दिने काम गर्छौं भनेर भन्न पाउँदा हामीलाई गर्व लाग्छ,’ कार्यक्रममा कलाकार दीपकराज गिरीले भने । दीपाश्री निरौलाले हरिवंशजस्तो छोरा जन्माउने मातापितालाई धन्यवाद दिँदै गणेशको मूर्ति उपहार दिइन् । ‘आज दाइलाई शुभकामना दिइरहँदा मैले दाइकी आमा गणेशकुमारीलाई सम्झिरहेकी छु । यस्तो प्रिय मान्छे हामीलाई दिनुभएकोमा उहाँलाई धेरैधेरै धन्यवाद छ । यो गणेशको मूर्ति उहाँकै सम्झनाका लागि,’ दीपाश्रीले भनिन् ।

शुभकामना दिन सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, महासचिव टंक आचार्य, हरिवंशका मित्र राजु भुजु, मुकुन्द अधिकारी, कलाकारहरु शिवहरि पौडेल,कविता शर्मा आदिको उपस्थिति थियो । हरिवंशलाई शुभकामना दिन मह संचारका गौरीशंकर धुजु तथा नरेन्द्र कंसाकार पनि कार्यक्रममा उपस्थित थिए ।कार्यक्रममा सदा हँसिलो प्रस्तुत हुने हरिवंशले आफूप्रति साथीभाइले गरेको सम्मानले गम्भीर भएको प्रतिक्रिया दिए । उनी भावुक भए, ‘कुनै समय मलाई चाँडै मर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर आजभोलि यो जिन्दगी प्यारो लाग्न थालेको छ । खासगरी जब–जब आफूलाई यति धेरै माया गर्नेका बीचमा पाउँछु, जिन्दगी प्यारो लाग्छ ।’

सदा सार्वजनिक कार्यक्रममा एकसाथ देखिने मह मध्ये मदनकृष्ण श्रेष्ठ कार्यक्रममा थिएनन् । हरिवंशले मदनकृष्णलाई सम्झिरहेको बताउँदै मदनकृष्ण श्रीमतिको उपचारको सिलसिलामा दिल्ली गएको जानकारी गराए । मदनकृष्णलाई ‘मिस’ गरिरहेको बताउँदै उनले पूर्वपत्नी मिरा आचार्यलाई पनि स्मरण गरे, ‘मिरा पनि मेरो जन्मदिनमा खुबै उत्साहित हुन्थिन् । अहिले म उनलाई सम्झिरहेकी छु । उनी जहाँ रहे पनि मेरो माया छ ।’

जन्मदिनमा आफूपछिका पुस्ताले गरेको श्रद्धाबाट प्रभावित बनेका हरिवंशले आफूलाई दिएको मानप्रतिष्ठा भोलिका दिनमा आउँदो पुस्ताले पनि पाओस् भन्ने कामना गरे । उनले भने, ‘आजका दिनमा तपाईंहरुले हामीलाई जुन सम्मान दिनुभएको छ, त्यो तपाईहरुको पालामा दोब्बर बनेर आओस् । हामीलाई तपाईहरुले ठूलो बनाउनु भएको छ तर तपाईंहरुले आजका दिनमा जुन स्तरका कार्यक्रम बनाउनु भएको छ । त्यसको तुलनामा हामीले त केही पनि गरेजस्तो लाग्दैन ।’ आचार्यले नेपालका सबै हास्य कलाकारलाई एउटै टेलिसिरियलमा खेलाउने इच्छा रहेको र त्यसको तयारी गरिरहेको पनि जानकारी गराए ।

हरिवंशसँगै रहेकी पत्नी रमिलाले जन्मदिनको शुभकामना बिहानै दिएको भए पनि उपहार भने दिन नपाएको गुनासो गरिन् । ‘उहाँलाई शुभकामना त बेलैमा दिएकी थिएँ तर उपहार भने दिन पाइन । जुरेकै रहेनछ,’ रमिलाले भनिन् । रमिलाले के उपहार दिन लागेकी थिइन् भन्ने नबताए पनि हरिवंश आफैंले उपहारको रहस्य खोलिदिए । ‘रमिलाले मलाई स्पोर्ट्स सुज दिन खोजेकी थिइन् । यता आउनुअघि दरबारमार्गमा किन्न पनि खोजेका थियौं । जुत्ता त मन परेको थियो तर पैसा मन परेन,’ हरिवंशले भने, ‘उपहार पछि दिँदा पनि हुन्छ भनेर मनाएर ल्याएँ, मैले पनि उसलाई एक महिनापछि नै उपहार दिएकी थिएँ ।’

हरेक हास्य कलाकारको जन्मदिन मनाउँदै आएको रेडियो अडियोले हरिवंश आचार्यको जन्मदिन पनि त्यसैको निरन्तरता रहेको स्टेसन म्यानेजर दीपेन्द्र खनियाँले बताए । अरुको तुलनामा ‘मह’को जन्मोत्सव भने विशेष तरिकाले मनाइँदै आएको उनले अवगत गराए ।’हुन त हामी थाहा पाएसम्म हरेक हास्य कलाकारको जन्मोत्सव मनाउँछौं । तर उहाँहरुको चाहिँ अझ विशेष हुन्छ किनकि उहाँहरु व्यक्ति मात्र नभएर यो क्षेत्रको संस्था हो,’ खनियाँले भने ।
नागरिक बाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.