मिस वर्ल्डका १० विवाद,नग्न तस्बिरका कारण थुप्रैले ताज गुमाए


विश्वसुन्दरी प्रतियोगिताको ६३औँ संस्करणले नेपालमा पनि निकै चर्चा पायो । ‘मिस वर्ल्ड’को उपाधि फिलिपिन्सकी मेगान योङले जिते पनि शीर्ष १० सम्म पुग्न सफल मिस नेपाल इसानी श्रेष्ठले चर्चा पाइन् । साथै, उनले ‘ब्युटी विथ पर्पोजको टाइटल पनि जितिन् ।

मिस वर्ल्ड प्रतियोगिताको सुरुवात सन् १९५१ बाट भएको हो । यसलाई बिकिनी कन्टेस्टको नामबाट सुरु गरिएको थियो । जसमा संसारका सबै देशका सुन्दर युवतीले भाग लिन्थे । पछि, यही कन्टेस्ट मिस वर्ल्डको नामले चिनिन थाल्यो ।

एक रिपोर्टका अनुसार मिस वर्ल्डको लोकप्रियता १९७० मा यति बढ्यो कि ब्रिटिस टेलिभिजनमा सबैभन्दा बढी हेरिने घटना बन्यो । जति–जति प्रतियोगिताको लोकप्रियता बढ्यो, त्यति नै विवादमा पनि यसको नाम जोडिँदै गयो ।संसारको सबैभन्दा ठूलो सुन्दरी प्रतियोगिताका रूपमा चिनिने यो कार्यक्रमको कतिपय संस्करण नग्नता, अपहरण र अभद्रताजस्ता हर्कतका कारण बदनाम भए ।
miss-world-2013-n
मिस वर्ल्डका विषयमा भएका १० विवाद :

१. सन् १९६५ मा बेलायतकी लेसली ल्यांगलीले मिस वर्ल्डको उपाधि हात पारेकी थिइन् । तर, यो उपाधि जितेलगत्तै मिडियामा उनको केही नग्न तस्बिर आयो । तस्बिरकै कारण लेसली निकै दिनसम्म तनावमा परिन् । विवादका कारण उनले जितेको मिस वर्ल्डको ताज निकम्मा भयो ।

२. सन् १९६६ को कुरा हो, मिस वर्ल्ड प्रतियोगिताको आयोजना क्याम्ब्रिज युनिभर्सिटीमा भइरहेको थियो । प्रतियोगिताका क्रममा एक घटनाले सबैको ध्यान आकर्षित गर्‍यो । त्यो घटना थियो– मिस साउथ अफ्रिका जोहन्ना कार्टरलाई ९ छात्राको समूहले गरेको अपहरण प्रयास । जोहन्नाको चिच्याइ र प्रतिकारका कारण अपहरणको षड्यन्त्र सफल हुन सकेन । तर, ती छात्राको षड्यन्त्र ‘स्टुडेन्ट च्यारिटी विक’का लागि रकम जुटाउन थियो । उनीहरू जोहन्नाको बदलामा फिरौती माग्नेवाला थिए ।

३. सन् १९७० मा २०औँ मिस वर्ल्ड प्रतियोगिताको विरोध गरिरहेका नारीवादी संगठनले रोयल अल्बर्ट हलको स्टेजमा बम विस्फोटन गराएका थिए । त्यसमा हताहत त कोही भएनन्, तर हल धुवाँ र गन्धले भरियो । त्यस सोमा तत्कालीन चर्चित कमेडियन बब होपले होस्ट गरिरहेका थिए । बम राख्नेहरूले प्रतियोगिताको प्रसारण रोक्न बिबिसी प्रसारण भ्यानमुनि पनि बम राखेका थिए । तर, त्यसको केही पनि प्रभाव परेन र प्रसारण चलिरह्यो ।

४. सन् १९७३ मा मिस संयुक्त राज्य अमेरिका मार्जोरी वालेसबाट चार महिनापछि मिस वर्ल्डको ताज खोसियो । किनकि, चार महिनापछि अचानक खुलासा भएको थियो कि उनले पदवी पाउन हाई प्रोफाइलका व्यक्तिसँग डेटिङ गएकी थिइन् । त्यसो गर्नु प्रतियोगिताको नियमविपरीत थियो ।

५. सन् १९७४ मा ब्रिटिस ब्युटी हेलेन एलिजाबेथ मर्गनबाट चार दिनपछि मिस वल्र्डको ताज फिर्ता लिइयो । किनकि, उनी अविवाहित आमा थिइन् । जुन वेला उनी प्रतियोगितामा सामेल थिइन्, त्यसवेला उनको बच्चा १८ महिनाको थियो । यस कुराको खुलासा उनले प्रतियोगिता जितेको चार दिनपछि भएको थियो ।

६. सन् १९७७ मा ब्युटी क्विन मेरी एन क्याटरिन स्टभिन मिस वर्ल्डको ताज पहिरिँदै गर्दा लर्खराइरहेकी थिइन् । उनलाई उभिन सहाराको जरुरत परेको थियो। वास्तवमा उनी हलमा ह्विस्की लिएर गएकी थिइन् र मञ्चमा जानुअघि नै नशाले चुर भइसकेकी थिइन्।

७. सन् १९८० मा ग्राबिएला ब्रमले मिस वल्र्ड त जितिन्, तर फिर्ता गरिन् । उनको भनाइ थियो कि उनको ब्वाइफ्रेन्डले ताज स्वीकार गरेनन्। यद्यपि, सत्यचाहिँ अर्कै थियो । उनले केही दिनपछि एउटा म्यागजिनका लागि नग्न फोटो खिचाएकी थिइन्।

८. सन् १९८७ मा नग्न तस्बिरका कारण मिस अस्ट्रेलिया उला वेजर्सटोर्फरबाट मिस वर्ल्डको ताज खोसियो ।

९. सन् १९९७ मा डायना हेडेनको शिरमा मिस वल्र्डको ताज सजियो। तर, पछि थाहा भयो कि जुन चयन समितिले उनलाई उपाधि दिने निर्णय गरेको थियो, त्यसका एक सदस्यसँग डायनाको
सम्बन्ध थियो ।

१०. सन् २००२ मा नाइजेरियामा भएको प्रतियोगिताको विरोधमा दंगा भड्कियो । त्यसमा दुई सय १५ व्यक्ति मारिए भने पाँच सयभन्दा बढी घाइते भए। त्यो दंगा एक फेसनसम्बन्धी लेखकले लेखेको विवादास्पद लेखका कारण भएको थियो ।