बेलायतको ‘बाफ्टा अवार्ड’ मा नेपाली फिल्म ‘गोर्खा वारियर’



काठमाडौँ। विश्वकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डस्‌मा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले बाफ्टामा ‘इन्ट्री’ पाएको हो । ‘गोर्खा वारियर’ लङ लिस्टका लागि हलिउड फिल्महरुसँग भिड्दैछ । बेस्ट फिल्म, एक्टर, डाइरेक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म क्याटगोरीमा ‘गोर्खा वारियर’को प्रतिस्पर्धा हुनेछ । यूरोपमा अस्करपछिको ठूलो मानिने बाफ्टा फिल्म अवार्डस् २०२४ समारोह आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा हुँदैछ ।

निर्देशक चाम्सले बाफ्टामा नेपाली सिनेमाले प्रवेश पाएकोमा आफू र आफ्नो टिम अत्यन्तै खुसी भएको बताए । ‘सजिलो पक्कै थिएन तर आज लङलिष्टका लागि ‘गोर्खा वारियर’ हलिउडका ठूल्ठूला सिनेमासँग प्रतिस्पर्धा गर्दैछ’, निर्देशक चाम्सले भने, ‘हार्नु जित्नु अलग कुरा हो तर ‘गोर्खा वारियर’ले इतिहास राख्ने काम जारी छ ।’ उनले धेरै चरणपछि हजारौं फिल्ममध्येबाट बाफ्टामा प्रवेश पाएको बताउँदै अब अन्य नेपाली सिनेमा पनि सहभागी हुनुपर्ने बताए ।