दयाहाङको ‘गाउँ आएको बाटो’ जेठ १८ मा



काठमाडौं। टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो । चलचित्र आगामी वर्षको जेठ १८ मा रिलिज हुने भएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिका रहेको छ ।

चलचित्र ‘नुमाफुङ’ बनाएर फरक धारका चलचित्रका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेश्रो चलचित्र हो । उनले बनाएको दोश्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन । चलचित्रको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन् । मेन्छ्याम फिक्चर्स तथा बाँसुरी फिल्मसको संयूक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

चलचित्रले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला(दया), माइली(पशुपति राई) र उनीहरुको सात वर्षे छोरा बिन्द्रे( प्रसान राई)को सो गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ ।

महेश राई र निर्देशक सुब्बाको स्क्रिप्ट लेखन रहेको चलचित्रको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई रहेका छन् । अमेरिकी छायाँकार मार्किन कापरोनले सिनेमाको छायांकन गरेका हुन् ।