पानीको फोका सर्बोत्क्रिस्ट,दुइ ब्यान्डको ह्याट्रिक


(सेलिब्रेटी नेपाल) ५ असोज- नेपाली संगीतलाई उन्नतिको बाटोतर्फ लम्काउन भनेर स्थापित संगीत अवार्डहरु थुप्रै छन्। जसमध्ये हिट्स एफएम म्युजिक अवार्ड पनि पर्दछ। शुक्रबार राजधानीमा सम्पन्न यो अवार्डको सत्रौं संस्करणमा लाइफटाइम अचिभ्मेन्ट अवार्डद्वारा संगीतकार सीके रसाइलीलाई सम्मान गरिएको छ। उनलाई सम्मान प्रदान गरिनुअघि गायिकाद्वय संगीता राना प्रधान र रजिना रिमालले उनकै प्रेमको माला पहिर्याइदिएँ बोलको गीत प्रस्तुत गरेका थिए। रसाइलीलाई कार्यक्रममा जेनेरल मार्केटिङका अध्यक्ष अमिक ज्योति र हिट्स प्रालीका अध्यक्ष राजीव राजभण्डारीले अवार्ड प्रदान गरेका थिए। उनलाई सम्मान गरिँदा हलमा उपस्थित सबै दर्शक स्वतःस्पूर्तरूपमा उठेर सम्मान प्रकट गरेका थिए। छिन्नलता पुरस्कारबाट सम्मानित भइसकेका उनले भने– ‘मलाई यसरी अवार्ड दिइरहँदा आफैंलाई अचम्म लागेको छ।’

Rajina-Rimal-hits

अवार्ड वितरण कार्यक्रममा ज्वाइन्ट फेमिली इन्टरनेसनल र मुक्ति एन्ड रिभाइबलले ह्याट्रिक गरेका छन् भने पानीको थोपा जस्तै बोलको गीतले चार अवार्ड पाएको छ। ज्वाइन्ट फेमिलीले न्यु आर्टिस्ट, पप कम्पोजिसन र पर्फमेन्स बाई अ ग्रुप भोकलको अवार्ड हात पार्दै ह्याट्रिक गरेको हो भने मुक्ति एन्ड रिभाइबलले रक सङ, रक भोकल पर्फमेन्स र रक एल्बम अफ द इयर क्याटेगोरीका अवार्ड उचाल्दै ह्याट्रिक कायम गरेको थियो। त्यस्तै रजिना रिमाल र मनोजराजको स्वर रहेको पानीको फोका जस्तै बोलको गीतले भने फिमेल भोकल पर्फमेन्समा रजिना रिमाल, मेल भोकल पर्फमेन्स, रेकर्ड अफ द इयरमा मनोजराज र कम्पोजिसनमा हरि लम्साललाई अवार्ड दिलाएको छ। कार्यक्रममा गायक दीप श्रेष्ठलाई यात्रा–२ का लागि अवार्ड प्रदान गरियो भने सङ अफ द इयरमा यादव खरेललाई सारंगीको तारको बोलको गीतका लागि अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा सङ ओरिजनल्ली रेकर्ड फर अ मोसन पिक्चर साउन्ड ट्रइकको अवार्ड हात पारेपछि संगीतकार राजौरे सान्तोषले मञ्चमै हर्षका आँसु खसालेका थिए। रामकृष्ण ढकाल र लता मंगेशकरको छुकछुके कोलाब्रेसन भोकलका लागि अवार्ड पाएका थिए।

विभिन्न १८ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रमको शुरुआतमा कुटुम्ब ब्यान्डले आकर्षक सांगीतिक धुन गुन्जाएको थियो भने विष्णु चेम्जोङले हावामा आयो हावामा बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए। लोक गायक झलकमान गन्धर्वप्रति समर्पित कार्यक्रममा उनका जेठा सुपुत्र गायक कर्ण गन्धर्वले झलकमानकै स्वरमा २०२४ सालमा रेकर्ड गराएको आमाले सोध्लिन् नि खै छोरा भन्लिन् बोलको गीत गाएर सुनाएका थिए। भोजराज काफ्लेले पेट खाली नरोउ नेपाली बोलको लोकगीत सुनाए भने ब्लुज ब्यान्डले प्रेमको बाटो, प्रमोद खरेलले डुल्छौ मेरै दिलको नगरीमा बोलको गीत सुनाएका थिए। कार्यक्रमको अन्त्यमा भने ज्वाइन्ट फेमिली इन्टरनेसनलले ओहो नेता जी, बल्ल आउनुभो बोलको व्यंग्यात्मक गीत सुनाएको थियो।

नेपाल समाचार पत्र बाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.