पौडेलले अमेरिकामा ‘भूठान’ बनाउने, हरिवंशआचार्य मुख्य भूमिकामा



काठमाडौँ। सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदानगर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोष्टर र नाम सार्वजनिक गरेका छन् । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई,जोयस पाण्डेय,अनुराधा मजुमदार, पूजा चन्द लामा , ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुवन्धित भएका छन् । यो चलचित्रमा हलिउडका एक नामुदकलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरुको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने कुरा निर्माता मध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन् । राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् ।

भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान्) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो ।

विश्वका हरेक देशले आत्मसात गर्ने कथा, राम्रो लेखन र यस चलचित्रमार्फत नेपालअन्तर्राष्ट्रिय बजारमा जानसक्ने सुझाव आएपछि, विभिन्न देशका अन्तर्राष्ट्रिय समुहहरु यसमा हातेमालो गर्न आए । यो दक्षिण एसियाको कथा भएको र भू–राजनीति पनि जोडिएको हुनाले मुख्य भूभिकामा भारतका प्रसिद्घ कलाकारहरु राख्ने गरी उनीहरुको छलफल भई सम्झौता पनि भएको थियो । यसमा नसिरुद्घिनशाह, आदिल हुसेन, अनुपम खेर, प्रसिद्घ साउण्ड डिजाइजनर विश्वदीप चटर्जी, ए. आर रहमान तथा चीन, अमेरीका र बेलायतबाट समेत कलाकाहरु जोडिने पक्का भएको थियो । अनुपम खेरले, यस्तो राम्रो स्कृप्ट धेरै वर्षमा पढ्न पाएको भनी मुख्य भुमिकामा कम पारिश्रमिकमा पनि आफू काम गर्न एकदम रुचि भएको जनाएपछि उनीलगायत केही कलाकारहरुसग कानुनी रुपमै संझौताभयो र पहिलो किस्ता परिश्रमिक पनि दिईयो । अनुपम खेरले, “द फिल्म इज लाइक अ क्लासिकल हलिउड”भनेका थिए । अनुपम खेर लगायत अन्य भारतीय कलाकारलाई फिल्मसम्म जोड्ने काम नेपाली नाट्य निर्देशक विमल सुवेदीले गरेका थिए । विमलले यो चलचित्रमा निर्देशक पौडेललाई क्रियटिभ पाटोहरुमा सहयोग गरिरहेका छन् । तर जब विनोद, विमल र मुख्य पात्र अनुपम खेर स्कृप्ट रिडिङ सेसनमा वस्न थाले तब विनोदलाई अनुपम खेरले चरित्र र कथावस्तुलाइ लिएर अलि बढी क्रियटिभ हस्तक्षप गरेको अनुभुति भयो । अनुपम खेर उनको चरित्र अलिकति बलिउडको चलनचल्तीको मान्यता अनुरुप एडप्ट गरी आफ्नो चरित्रलाई लिएर नयां दृष्टिकोण दिन चाहन्थे । तर निर्देशक विनोद भने यो चलचित्र भारतीय फमुर्ला चलचित्र हेर्ने दर्शकको लागि मात्र नभएर विश्वबजारका लागि भएकोले बलिउड दर्शकको रुचिलाई मात्र ध्यान दिएर, कथाकोे आत्मा र उक्त चरित्रको गहिराईमा सम्झोता गर्नाले चलचित्रको दर्शनको लय बिग्रने हुँदा बरु सम्झौताको समयमा दिईएको पहिलो किस्ता वापतको रकम क्षतिपूर्ति स्वरुप अनुपम खेरवाट फिर्ता नलिने र पुनःभविष्यमा सहकार्य गर्ने आपसी समझदारी सहित अनुपखेर सँगको यात्रा टुंगियो । अन्तत, अनुपम खेरसँगको सहकार्य हाललाई नहुने र विश्वका केही प्रसिद्घ कलाकारहरु पनि उक्त समयमा अमेरिकामा भइ रहेको कलाकारहरुको आन्दोलनले गर्दा अन्योल भएपछि अन्तर्राष्ट्रिय ठूला लगानीकर्ताहरु पनि पन्छिए । अहिले मुख्य भूमिकामा हरिवंश आचार्यसहित नेपाल, अमेरिका र भारत सहितको समूह मिलेर चलचित्रको पूर्व तयारीमा जुटेको छ ।

निर्माता अविरल थापाले यो चलचित्र विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए । कार्यकारी निर्माता एल. एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरिका सम्पूर्ण प्लेटफर्महरुमा र सिनेमा हलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई प्रदर्शन गरिने बताए । चलचित्रकी कार्यकारी निर्माता कौशिला खनालले “भुटानी शरणार्थीहरुको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढंगबाट लेखक एवं निर्देशक पौडेलले काम गरिरहेको देखेर यसमा जोडिएको बताइन्” । यस चलचित्रका लाईन प्रोड्युसर दीपक गजमेरका अनुसार, “हाम्रो कथा अहिलेसम्म यति गहिराइबाट नलेखिएको र नभनिएकोले यो फिल्मले आफ्नो सिंगो समुदायको आवाजलाई विश्व बजारमा बुलन्द गर्नेमा आफ् विश्वस्त रहेको बताए” । यस चलचित्रमा सन् २०१७ मा अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोसियट निर्माताकोे रुपमा जोडिएका छन् । यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी,अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एलएन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह निर्माण रहनेछ । चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायाँकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्नेछ ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन् ।

यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।