
(सेलिब्रेटी नेपाल) १५ भाद्र-आउँदो अशोजमा ९५ वर्ष उमेर पुग्न लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरे शुक्रबार साँझ दुईघण्टा बढी समय पलेँटी कसेर मात्र बस्नुभएन आफूले लेखेको गीतको भाका र भावमा डुबेर अरुलाई समेत जुरुकजुरुक बनाउनुभयो। नेपालयले आयोजना गरेको पलेँटी उत्सवमा घिमिरेले रचना गरेका गीत र उहाँको सम्झनालाई दर्शकले प्रत्यक्ष सुन्न पाए ‘पलेँटी उत्सव’ मा राष्ट्रकवि घिमिरेले आफूले लेखेका गीत प्रत्यक्ष सुन्दै दर्शकलाई त्यसको अर्थ र भावबारे बेलिबिस्तार लगाउनुभयो।
ललितपुरमा भएको कार्यक्रममा पलेँटीका गायक सुरज र गायिका मिनाले राष्ट्रकविको मन छुने गरी उहाँले लेखेका झण्डै डेढदर्जन गीत गाए। नारायणगोपाल,फत्तेमान, तारादेवी, नातिकाजी, शान्ति ठटाल, गोपाल योञ्जन लगायत चर्चित गायक गायिकाको स्मरण गराउनेगरी उनीहरुले गीत गाउँदा राष्ट्रकवि घिमिरे मख्ख पर्नुभयो।



