चलचित्र ‘दिमाग खराब’को प्रदर्शन रोकिने



काठमाडौँ। गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित हुने भएको छ । चलचित्र हलसँग विमति राख्दै यो चलचित्रको प्रदर्शन स्थगित गर्ने चलचित्र निर्माण कम्पनी सिनेमा आर्ट्सले एक वक्तव्य जारी गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा हलहरूले नेपाली चलचित्रलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको बताइएको छ । “विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,” विज्ञप्तिमा भनिएको छ, “पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०%-५०% प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ ।”

विज्ञप्तिमा जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शेयर बाँडफाँड हुँदैन तब सम्मको लागि नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको उल्लेख गरिएको छ । हलमा रिलिज गर्ने वातावरण नरहे दर्शकलाई अन्य कुनै माध्यमबाट चलचित्र देखाउने बताइएको छ ।