भैरवबहादुर सहित ५ फिल्मकर्मीलाई ‘इनास विशिष्ट सम्मान’ प्रदान



काठमाडौँ । नेपाली फिल्ममा प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ अभेनता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल एकसाथ सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पाँचौँ ग्लोबल सम्मेलन सबै कलाकारलाई ‘इनास विशिष्ट सम्मान २०२३’ द्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी, ग्लोबल अध्यक्षमा रामचन्द्र थापा लगायतले सबैलाई फूलमाला तथा सम्मान पत्रले प्रदान गरे । कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश रेग्मीले नेपाली भाषा, कला तथा संस्कृतिलाई विश्वव्यापी रूपमा संरक्षण तथा सम्वद्र्धन गर्ने इनासले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकार संघ इनाससँंग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताए । अभिनेता कृष्ण मल्लले आफू सम्मान लिन आएको भन्दा पनि सम्मान गर्न आएको बताउँदै इनासले नेपाली कला संस्कृतिलाई विश्वभर फैलाउन सफल भएको बताउँदै इनासलाई अझै सशक्त भएर अगाडि बढ्न शुभकामना दिए ।

महाधिवेशनले ग्लोबल अध्यक्षमा रामचन्द्र थापा (अस्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा साबु गदाल कार्की (अमेरिका) मित्रलाल पार्दै (पोल्यान्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) रहेका छन् । त्यसैगरी महासचिवमा राजमान तामाङ (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) रहेका छन् ।

क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप) रुपा न्यौपाने (दक्षिण एसिया), कन्हैयासिङ्ग परियार (उत्तर अमेरिका) रहेका छन् । सह–संयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) रहेका छन् भने बाँकी केही पदहरु हालका लागि रिक्त राखिएको ग्लोबल समितिले जनाएको छ ।

इनासले प्रत्येक २ वर्षमा गर्ने ग्लोबल सम्मेलनका अवसरमा कार्य कुशलताको उच्च मूल्याङ्कन गर्दै एक क्षेत्रीय समिति र १ राष्ट्रिय समितिलाई उत्कृष्ट इनास सम्मानद्वारा सम्मान गर्दै आएको छ । जसअनुसार यस पटक जर्मनी राष्ट्रिय समिति र युरोप क्षेत्रीय समितिले इनास उत्कृष्ट सम्मान २०२३ प्राप्त गरेका छन् । इनास उत्कृष्ट राष्ट्रिय समिति जर्मनीको सम्मान इनास जर्मनीका पूर्व सल्लाहकार मदन दाहाल तथा इनास युरोप राष्ट्रिय समितिले प्राप्त गरेको सम्मान इनास युरोपका संयोजक प्रकाश तिवारीले ग्रहण गरे ।

इनास नेपालका अध्यक्ष दयाराम पाण्डेले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्ण लामाको समुहले नृत्य, गायिका माण्डवी त्रिपाठी र सरोज साजन श्रेष्ठले गायन प्रस्तुत दिएका थिए ।

तस्विर-राज मल्ल