काठमाडौँ। सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी रहे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम, नेकपा एमालेका सांसद ठाकुर गैरेलगायतले हलमा पुगेर २ घण्टा २० मिनेट लामो चलचित्र ध्यानपूर्वक हेरे ।
हलबाट निस्किँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले चलचित्रले मन छोएको बताए । ‘चलचित्र नेपाली समाज र नेपाली संस्कृतिको बेजोड प्रस्तुति भएको अनुभूति गरे’ उनले भने । उनले चलचित्र सन्देशमूलक रहेको भन्दै दर्शकलाई पनि हेर्न आग्रह समेत गरे ।
एकीकृत समाजवादीकी नेतृ झाँक्रीले आफूले देखेका कुरालाई नै चलचित्रले उठान गरेकाले आफूलाई छोएको बताइन् । ‘मलाई कथाले एकदमै छोयो । कथावस्तु, प्रस्तुति, अभिनय सबै राम्रो छ’ उनले भनिन् ‘चलचित्रमार्फत धेरै ठूलो सन्देश समेत दिनुभएको छ ।’ उनले चलचित्रको सिंगो टिमलाई बधाई एवं धन्यवाद समेत दिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले चलचित्र अत्यन्तै राम्रो बनेको भन्दै खुशी लागेको बताइन् । ‘समग्रमा चलचित्र अत्यन्तै राम्रो बनेको रहेछ । यसले नेपाली समाजको विशेष गरी लोक संस्कृतिको पनि राम्रो जागरण गरेको रहेछ । मलाई अत्यन्तै धेरै खुशी लाग्यो’ – गौतमले भनिन् । उनले चलचित्र हेरिरहँदा खुशी खोज्ने चाहानाले विदेशिएका आफ्ना साथीहरुलाई धेरै सम्झिएको समेत बताइन् । चलचित्र समाजको यथार्थ चित्रण भएको प्रतिक्रिया उनले दिइन् ।
एमालेका सांसद गैरेले चलचित्रले आमाबुवाको देशप्रतिको आशा के हो ? आफ्नो समाजप्रतिको अपेक्षा के हो ? बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई चलचित्रले जिवन्त दंगले उजागर गरेको बताए । ‘बुवाआमा र सन्तानबीचको माया, विदेशमा बस्नेहरुले कस्तो जीन्दगी भोगिरहेका छन् भन्ने कुरालाई समेत चलचित्रले देखाएको छ’ उनले भने, ‘हाम्रो नेपाली समाज, संस्कृति, मूल्यमान्यतादेखि देश विकासको जनअपेक्षा समेत चलचित्रले बुलन्द गरेको छ ।’
निर्माता एवं निर्देशक अशोक शर्माले चलचित्रको कथा बलियो रहेको बताए । गायक शम्भु राईले चलचित्रले आफ्नो माटो, संस्कृति, संस्कार बोलेको भन्दै प्रसंशा गरे ।
विशेष शोमा निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल, अभिनेत्री केकी अधिकारी लगायत चलचित्रको टिम उपस्थित थिए । निर्देशक रायमाझीले प्राप्त प्रतिक्रियाले एकदमै खुशी लागेको बताए । ‘चलचित्र समाजको दर्पण हो भनेर हामीले सधै भन्ने गरेका छौं । यो हामीले बनाएको भन्दा पनि हाम्रो समाजको यथार्थ कथा हो । सम्पूर्ण टिमको संयुक्त प्रयासले चलचित्र राम्रो भएको हो’ रायमाझीले भने, ‘चलचित्रलाई मन पराउनुहुने सम्पूर्णलाई धन्यवाद भन्न चाहान्छौं ।’ अभिनेत्री अधिकारीले यसपटक आफूलाई दुईवटा दशैं आएको आभास भएको बताइन् ।
‘एउटा दशैं त छँदै थियो । परदेशीले अर्को दशैं पनि थपिदियो’ उनले भनिन् । निर्माता वंशलले दर्शकबाट पाएको माया आफूहरुको लागि सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । माउथ पब्लिसिटी राम्रो भएका कारण चलचित्र अझै लामो समय जाने विश्वास उनले व्यक्त गरे ।
असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र शुक्रवारबाट चौथो सातामा प्रवेश गर्दैछ । चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझीलगायतको अभिनय छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले विदेशमा समेत आफ्नो प्रदर्शन आरम्भ गर्दैछ ।