अभिनेता अनमोल केसी अस्पतालमा, भोलि म्याद थप गरिने



काठमाडौँ । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् । एसएसपी कुमुद ढुंगेलका अनुसार ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल भर्ना गरिएको हो ।

आज बिदा भएकाले आइतबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने ढुंगेलले जानकारी दिए । केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको भनाई छ । आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

अनमोल शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ परेका हुन् । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए । तर, उनले फिल्म खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ । फिल्म निर्माणमा आवश्यक अन्य विधामा निर्माण युनिटले ऋण खोजेर १ करोड ५० लाख लगानी गरेको भन्दै निर्माण युनिटले प्रहरीमा उजुरी गरेका थिए ।

उजुरी परेपछि प्रहरीले बोलाउँदा अनमोलले ‘नआउने’ बताएपछि प्रहरीले जाहेरी दर्ता गरेर उनलाई पक्राउ गरेको एसपी रेग्मीले जानकारी दिए । अनमोललाई सुरुमा टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिए पनि पछि अस्पताल पठाइएको थियो ।