सौगातको लुक्स ‘पशुपति प्रसाद २ः भष्मे डन’मा यस्तो



काठमाडौँ। कार्तिकको ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमले नायक सौगात मल्लको लुक्स सार्वजनिक गरेको छ । चलचित्र रिलिजको दिन नजिकिदै गर्दा सौगात मल्लको फरक लुक्स रिलिज गरिएको हो । सार्वजनिक पोष्टरमा सौगात टाउकोमा फेटा बाँधेर रिसाहा लुक्समा छन् । सौगातको भूमिका भने अहिलेसम्म खुलेको छैन । उनी र फिल्मका केन्द्रिय पात्र विपिन कार्की विचको टकरावले फिल्मलाई रोचक बनाएको अनुमान धेरैको छ ।

यसअघि चलचित्र ‘पशुपति प्रसाद’मा विपिन र खगेन्द्र लामिछानेको टकरावले चलचित्रलाई विशेष बनाएको थियो । यो फिल्मको २ वटा गीत र टिजर सार्वजनिक भैसकेको छ, जसले दर्शकको ध्यान खिचिसकेको छ । यो फिल्मको हाइप उच्च भएकै कारणले विदेशमा यसको अग्रिम बुकिङ समेत खुलिसकेको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्मले ‘पशुपति प्रसाद’को निधनपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्नका लागि लागिपरेको भष्मेको कथा भन्छ । यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको मुख्य भूमिका छ । फिल्ममा खगेन्द्र लामिछानेलाई पनि विशेष भूमिकामा देख्न सकिनेछ ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा खगेन्द्र लामिछानेको लेखन तथा निर्माण, निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाजको संगीत छ ।