काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’को छायाँकन सुरु गरिएको छ । केही दिन अघि मुस्ताङ पुगेको निमार्ण टिमले सम्पूर्ण कलाकारहरुको उपस्थिति भएसँगै छायाकंन सुरु गरेको हो ।
निर्माण टिमले चलचित्रको छायाकंन गर्ने तयारी गर्दै एक हप्ता अघि सम्म चलचित्रका मुख्य कलाकारहरु र निमार्ण टिमको लाइनअप सार्वजनिक गरिरहेकोे थियो ।
चलचित्र मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखराको रमणीय स्थलबाट छायांकन सुरु भएको र छायाकंन अवधी ३५ दिनसम्म चल्ने निर्देशक भट्टराईले जानकारी गराए । पोखराकै परिवेशमा रहेर कथा बुनिएको चलचित्रमा मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायक हरुमा पल शाह, सुशील सिटौला, मोडल समिम खान र अर्की मुख्य अभिनेत्रीमा करिश्मा श्रेष्ठको प्रमुख भुमिका रहने छ । चलचित्रमा प्रशान्त ताम्राकार र राजाराम पौडेल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ ।
क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहने छ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् । राजु थापाको डिओपी रहने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत छ । चलचित्रमा निर्देशक चन्द्र पन्त र अभिनेता राज कटुवाल निर्माता रहेका छन् ।