‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक



काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक चलचित्रको गीतको भिडियोमा मुख्य कलाकार विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । दुई पात्रबीचको मायाप्रेमलाई गीतमा देखाइएको छ । रमाइलो शैलीमा तयार पारिएको गीतको छायांकन, कलर र प्रोडक्सनमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ ।

र्‍यापको समिश्रण रहेको गीतमा कृष्ण भारद्धाजको संगीत तथा सुशिल पौडेल र संगीतकार भारद्धाजको शब्द रचना,काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफी र निरज कँडेलको डिओपी रहेको गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ ।

दर्शकमाझ प्रतिक्षित रहेको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।