अनुप बरालको एक्टर्स स्टूडियोलाई उषा रजकले लगाईन् गम्भीर आरोप



काठमाडौँ। अभिनेत्री उषा रजकले कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टूडियो’लाई दुषित ठाउँ भएको आरोप लगाएकी छिन् । अनुप बरालले केही बर्ष अगाडि आफूलाई चलचित्र ‘कागवेनी’बाट हटाएर दीया मास्केलाई छनोट गरेको भन्दै उनले एक्टर्स स्टूडियोमा धेरै कलाकार अभिनयको सपना बोकेर जाने तर निराश भएर फर्किने बताएकी छिन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्–‘एक्टर्स स्टूडियोको पहिलो ब्याचको विद्यार्थी म । १७ बर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुवन्धित गराउनुहुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानुको गुरुको परिभाषा यस्तो छैन । सन् २००६ मा एक्टर्स स्टूडियोको ट्रेनिङ बज्र होटलमा हुन्थ्यो । त्यहाँ भुषण दाहाल र टिम कास्टिङको लागि आएका थिए । पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मङ्ग्राती अडिसनमा थियौं । ‘कागबेनी’ फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । तर रातारात म आउट, दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ ।’


उनले, आफूले त्यो दिन गुरुको अर्कै रुप देखेको उल्लेख गरेकी छिन् । उक्त समयमा आफूले आँट बटुलेर अनुप बराललाई सोधेको तर उनले कुरा मोडेर डिनर जाने कुरा गरेको पनि उषाले उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई भूमिका दिन पाइयो । तर, एउटा शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुपर्छ । परिवारवाद, समर्थनबाद किन ? मैले एक्टर्स स्टूडियोका धेरै विद्यार्थीले पछाडि पछाडि यो कुरा भनेको सुनेको छु । तर, बिरालोको घाँटीमा घन्टी कसले बान्ने ?’

उनले, अहिले पनि राम्रो फिल्मको अडिसन त्यहीबाट हुने गरेको उल्लेख गर्दै कलाकारहरु ठूलो आशा लिएर त्यहाँ पुग्ने गरेको लेखेकी छिन् । उनले, आफ्नो अनुप बरालसँग कुनै रिस नभएको उल्लेख गर्दै दिया मास्केलाई पनि राम्रो कलाकारको रुपमा चित्रित गरेकी छिन् ।

उनले, कला क्षेत्रमा आफूले धेरै राम्रा गुरुहरु पनि भेटेको उल्लेख गर्दै सबै जना प्रदुषित नहुने पनि स्पष्ट पारेकी छिन् । उषाले फिल्म ‘प्रकाश’को टिमले अदालतमा उजुरी दिएको प्रसंग समेत उठान गर्दै चाडै न्याय दिन पनि आग्रह गरेकी छिन् ।