विमलेशको निर्देशनमा बन्ने चलचित्र ‘ह्याप्पी डिभोर्स’ मा केकी र रीमा



काठमाडौँ। अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा गरेका छन् ।

उनले निर्देशन तथा अभिनय गर्ने चलचित्रको नाम ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । चलचित्रमा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने चलचित्रको रिलिज समेत यही बर्ष गरिने बताईएको छ ।

मंगलबार नै चलचित्रको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने चलचित्रले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्नेछ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।

अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश सिनेमाले नदिने बताइन् । हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा आफुहरु सजग रहेको उल्लेख गरिन् ।

यता अभिनेत्री रीमा विश्वकर्माले पनि सिनेमाले डिभोर्स नै समस्याको समाधान नरहेपनि जिवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने बताइन् । एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडी बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई चलचित्रले नजिकबाट देखाउने दाबी गरिन् ।

सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रमा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागरबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।