चलचित्र ‘रंगेली’को छायांकन सुरु



काठमाडौँ। चलचित्र ‘रंगेली’को छायाङ्कन मंगलवारदेखि प्रारम्भ गरिएको छ । सुनसरीको इटहरीमा फिल्मको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईंले दिएका छन् । चलचित्र कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा छायांकन हुने निर्देशक अर्जुन सुवेदीले बताए ।

सोमवार मोरङको रङ्गेलीमा रहेको काली मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै शुभ मुहूर्त गरिएको थियो । मुहूर्तको समयमा प्रमुख कलाकारहरूको भने उपस्थिति थिएन । छायाङ्कनको समयमा उपस्थित नभएता पनि फिल्म छायाङ्कनको सेड्यूल अनुसार क्रमशः कलाकारहरू उपस्थित हुने निर्माता जितेन्द्र खतिवडाले बताए ।

यस वर्षको फागुन २५ गतेका लागि प्रदर्शन मिति तय गरिएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहनेछ ।

फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले चलचित्रलाई छायांकन गरिरहेका छन् ।