धार्मिक संस्थाले गर्दा बोर्डले ‘एक भगवत् गीता’लाई दिएन सेन्सर सिफारिस



काठमाडौँ । चलचित्र विकास बोर्डले भदौको २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘एक भगवत् गीता’लाई सेन्सर सिफारिस दिन रोकेको छ । चलचित्रका निर्माता सुनिल कुमार थापाले बिनाकारण बोर्डले सेन्सरका लागि सिफारिस नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । बिनाकारण आफूलाई दुःख दिने काम भएको थापाको भनाई रहेको छ ।

केही धार्मिक संघ संस्थाले चलचित्रको नाम नै परिवर्तन गर्नुपर्ने मागसहित विकास बोर्डमा पत्र दिएपछि अध्यक्ष भुवन केसीले सिफारिस रोकेका हुन् । उनले शुक्रबार बोर्डका स्वकीय सचिवसहित बसेर छलफल गरेर निर्णय लिने भन्दै रोकेका हुन् । चलचित्रको नाम परिवर्तन नभए रिलिज नै गर्न नदिने भन्दै केही धार्मिक संघसंस्थाले विरोध जनाइरहेका छन् ।

चलचित्रले एक बालक र एक युवतिको कथालाई प्रस्तुत गरेको भन्दै केही धार्मिक संघसंस्थाले चलचित्रको नामले गलत सन्देश जाने तर्क गरेका छन् । तर, निर्माता सुनिलकुमार थापाले भने फिल्मले कुनै पनि धर्मको विषयमा कथा नभनेको भन्दै २ पात्रको नाममा चलचित्र बनाएको बताए । झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगरकाे मुख्य अभिनय रहेको छ ।