दया र मिरुना ‘नाङ्गो गाउँ’ को गीतमा देखिए रोमान्टिक



काठमाडौँ। अभिनेता दयाहाङ राई र मिरुना मगरको जोडी पछिल्लो समय रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो चलचित्र ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश एक गीत सार्वजनिक भैसकेको छ । निर्माणपक्षले चलचित्र रिलिजका लागि ३ हप्ता बाँकी रहेको समयमा एक रोमान्टिक गीतको भिडियो छायांकन गरेको छ ।

चित्लाङका रमणीय स्थानमा खिचिएको भिडियोमा दया र मिरुना रोमान्टिक देखिएका छन् । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । निर्देशक लामाले केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने बताए ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । चलचित्रमा बनिष शाहको सम्पादन छ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।