प्रदर्शनमा आयो ‘जय हो’ र महानगर’



काठमाडौँ । चलचित्र ‘जय हो’ र चलचित्र ‘महानगर’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रवारबाट यी दुई नयाँ चलचित्र प्रदर्शनमा आएको हो । टेक पौरखी राईको निर्देशन रहेको चलचित्र ‘जय हो’ केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय छ । फिल्म सुरज ल्वागन (सरकार) र राज के अधिकारीले बनाएका हुन् ।

प्रेमकथामा निर्माण भएको चलचित्रका शोभित बस्नेत प्रस्तुतकर्ता हुन् । चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मोहन राई निर्देशित ‘महानगर’ एक साँझमा दुई अपरिचित व्यक्तिको अचानक हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको फिल्म हो । चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका छ । चलचित्रमा कार्म र मेनुकासँगै अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डेलगायत कलाकारको अभिनय छ ।