ज्ञानेन्द्रको निर्देशनमा बन्ने ‘उपहार’ को शुभमुहूर्त



काठमाडौं। अभिनेत्री रेखा थापाको लगानी तथा अभिनय रहने चलचित्र ‘उपहार : द जर्नी अफ लाइफ’को शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको सोमबारबाट छायांकन सुरु हुनेछ । अभिनेत्री थापा ‘मालिका’ रिलिजको ५ बर्षपछि अभिनय र सिनेमा निर्माणमा फर्किएकी हुन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा रेखाका अलवा मुकुन भुषाल, पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु थापा लगायतका कलाकारको अभिनय रहनेछ । ४० दिनको छायांकन सेड्युल राखिएको सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ ।

रेखा फिल्मस् र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमा सामाजिक विषयवस्तुमाथि आधारित हुनेछ । सिनेमामा अभिमन्यू निरवी तथा सुलक्षण भारतीयको लेखन छ । सिनेमामा रेखा, पूजा र बेनिशा एक्सन भूमिकामा प्रस्तुत हुनेछन् । पहिलो पटक उनीहरुको सिनेमामा सहकार्य भएको हो ।

सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, विष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन र देव गुरुङको सम्पादन रहनेछ ।