चाम्सको चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायती प्रधानमन्त्रीको शुभकामना पत्र



काठमाडौँ । निर्देशक मिलन चाम्सले निर्माण निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ यतिखेर चर्चामा छ । बेलायतको लेसिस्टरस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा सेप्टेम्बर १० को दिन चलचित्र प्रिमियर गर्ने कार्यक्रम छ ।

सोही कार्यक्रमका लागि अनुरोध गर्दै मिलन चाम्स लगायतका चलचित्रका टिमले गत जुलाई २० मा बेलायतका सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई प्रिमियर समारोहमा उपस्थित हुन निम्तो दिंदै पत्र लेखेका थिए । उक्त पत्रको जवाफमा प्रधानमन्त्री सुनकले आफू कार्य व्यस्तताको कारण प्रिमियर समारोहमा उपस्थित हुन नसक्ने जवाफ समेत दिँदै शुभकामना पत्र लेखेका छन् ।

प्रधानमन्त्री ऋषि सुनकले नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई पत्र लेख्दै सफलताको शुभकामना दिएका हुन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटको तर्फबाट अगस्ट १७ मा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै गोर्खा वारियर टिमको लागि शुभकामना पत्र पठाएका हुन् ।

पत्रमा प्रधानमन्त्री सुनकले लेखेका छन्, ”बहादुर गोर्खा सैनिकबारे वीरता, त्याग र समर्पणबारे बनेको यो फिल्मबारे थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । दुर्भाग्यवश, कार्यव्यस्तताको कारण म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । यद्धपि, प्रिमियर र फिल्म सफलताको शुभकामना दिन चाहन्छु । पत्रको लागि धन्यवाद ।”