काठमाडौं। आज भदौ १ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘जुलेबी’ तथा ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् ।
गणेश देव पाण्डेद्वारा निर्देशित फिल्म ‘जुलेबी’ सेन्सर बोर्डबाट एडल्ट (वयष्कलाई मात्र) सर्टिफिकेट पाएको छ । यौनकर्मिको कथामा बनेको यो फिल्म १६ वर्षभन्दा कम उमेरका दर्शकले हेर्न पाउने छैनन् ।
रत्नपार्कको वरिपरीको यौनकर्मिको कथामा बनेको ‘जुलेबी’ को विषयवस्तु र सार्वजनिक टीजर र ट्रेलरले दर्शक माझ कौतुहलता पैदा गरिसकेको छ । फिल्मले दर्शकको मन जित्ने कुरामा निर्माण टिम ढुक्क देखिएका छन् ।
कार्यकारी निर्माता नवीन भट्ट रहेको यो फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डेकै लेखन रहेको फिल्मको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।
यसैगरी, आजदेखि प्रेम कथानक फिल्म ‘हिँड्दा हिँड्दै’ पनि प्रदर्शन भएको छ । यो फिल्मको निर्देशन मिलन आले मगरले गरेका हुन् ।
सुशील पंगेनीको लेखन र निर्माण रहेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानीया खान, भोला सापकोटा,बिमल श्रेष्ठ,बिशाल श्रेष्ठ,बिकास थापा मगर र बालकलाकार अर्विन थिङले अभिनय गरेका छन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता बिमल श्रेष्ठ हुन् । सुमनकुमार तण्डुकारले खिचेको फिल्मका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकलको संगीत,कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी अनि देव महर्जनको द्वन्द निर्देशन छ ।