‘जुलेबी’बारे सुशील : अहिलेसम्म नदेख्नुभएको क्यारेक्टरमा देख्नुहुनेछ



‘फिल्मले राम्रो गर्ने भाइब्स आइरहेको छ’


काठमाडौं । ‘राम्रो अभिनय गर्ने कलाकार’का रुपमा चिनिएका अभिनेता सुशील सिटौला नयाँ फिल्मका साथ हलमा आउँदैछन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ प्रदर्शनमा आउँदैछ, यहि शुक्रवारदेखि । ‘यो एउटा आशालाग्दो कथा हो । मायाको कथा हो । तृष्णाको कथा हो’ सुशील फिल्मबारे आशावादी हुँदै भन्छन् ‘विल्कुलै नयाँ कथामा अग्र्यानिक खालको फिल्म बनेको छ । दर्शकले रुचाउने विश्वास छ ।’

फिल्ममा मुख्य भूमिकामा ७ पात्रहरु छन्, उनीहरुका आ–आफ्नै विगत छन् । आ–आफ्नै चाहना छन् । रत्नपार्कबाट ति पात्रहरु जोडिन्छन् । यसको अधिकांश छायाँकन रत्नपार्कमै गरिएको हो ।

अभिनेता सुशील फिल्म हेरिरहँदा त्यहाँका पात्रलाई कतिपय दर्शकले आफ्नो जीवनसँग रिलेट गर्न सक्ने विश्वास लिएका छन् । फिल्ममा डोटीबाट काठमाडौं आएको ‘छमान’ नामक पात्रको भूमिकामा देखिएका छन् उनी । ‘रत्नपार्कमा भिडभाड देख्छौं । कसैले कसैलाई चिन्दैनौं । त्यही रत्नपार्क हुँदै ओहोरदोहोर गर्ने, बागबजारमा काम गर्ने केटा हो छमान । जसले आफ्नै फरक कथा बोकेर आएको छ’ सुशील फिल्ममा आफ्नो भूमिका प्रष्टयाउँछन् ।

निर्देशक गणेशदेव पाण्डेको यसअघिको फिल्म ‘गाँजाबाजा’मा पनि थिए सुशील । उनै पाण्डेले ‘जुलेबी’ फिल्मबारे कुरा गर्न बोलाए । एउटा क्यारेक्टरबारे मात्र सुनाए । यसअघि क्यारेक्टर उस्तै–उस्तै भएर सुशीलले केही फिल्म छाडेका थिए । यसमा विल्कुलै फरक क्यारेक्टर थियो, जुन सुशीलले यसअघिका फिल्ममा निर्वाह गरेका थिएनन् । किन नगर्ने ? फिल्मका लागि राजी भए । सुशील दाबीका साथ भन्छन् – ‘नेपाली फिल्ममा मलाई अहिलेसम्म नदेख्नुभएको क्यारेक्टर यसमा देख्नुहुनेछ ।’

फिल्मको छायांकन गुरिल्ला स्टाइलमा भएको रहेछ । रत्नपार्कमा उपस्थित मानिसहरुले सुटिङ खास्सै पत्तो पाएनन् । कलाकारहरु निश्चिल ठाउँमा गएर उभिन्थे, निर्माण टिमको एकजनाले साइडबाट एक्सन भनेर क्रस हुन्थे । टाढाबाट क्यामेराले खिचिरहेको हुन्थ्यो ।
‘यसरी काम गर्दाका अनुभव इन्टे«ष्टिङ रह्यो । अझ नेचुरल देखिने भयो’ उनले भने ।

‘होस्टेल रिटर्नस्’ डेब्यू अभिनेता सुशीलको पहिलो फिल्म नै हिट रह्यो । यद्यपि, त्यसपछि उनका धेरै फिल्म प्रदर्शनमा आइसके । ति फिल्ममा उनले फरक फरक क्यारेक्टर निर्वाह गरे । आफूले हरेक फिल्ममा फरक–फरक भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको उनी बताउँछन् । ‘जुलेबी’मा सुशीलका अलावा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । सबै कलाकारहरुले फिल्ममा राम्रो अभिनय गरेको सुशील बताउँछन् । फिल्मको टिजर,ट्रेरलाई लिएर दर्शकहरुबाट एक खालको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । नयाँ स्वादको फिल्म आएको भन्दै दर्शकले रुचि देखाएका छन् । अब व्यापार कस्तो गर्ने हो ? त्यसका लागि भने केही दिन कुर्नुपर्ने छ । ‘मुख्य भनेको दर्शक हो । फिल्म उहाँहरुलाई मन पर्नुपर्यो । कतिपय फिल्मको टे«लरले त्यति बज गरिरहेको हुँदैन । तर, प्रदर्शनमा आइसकेपछि माउथ पब्लिसिटीका कारण राम्रो भएका कतिपय फिल्महरु पनि छन्’ सुशील भन्छन्, ‘‘जुलेबी’को सन्दर्भमा पनि राम्रो हुने भाइब्स आइरहेको छ । एकपटक हेरिसकेका दर्शकले दोहोर्याई तेर्याही हेर्छन् जस्तो लागिरहेको छ ।’ आभा नेपाल निर्माता रहेको यो फिल्मलाई विवेक खड्काले छायांकन र अञ्जय खड्काले सम्पादन गरेका हुन् ।