सेलिब्रेटी नेपाल बार्हौं वर्षमा प्रवेश



आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको एघार वर्ष पूरा गरि बार्हौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका मुख्य स्रोत हुन । यस अवसरमा हामी सर्वप्रथम हाम्रा पाठकहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

त्यस्तै, सम्पूर्ण चलचित्रकर्मी, विज्ञापनदाता, सुभचिन्तकप्रति पनि हामी विशेष आभारी छौं । आजभन्दा दश वर्षअगाडी अनलाईन सञ्चालनमा ल्याउनु सहज थिएन, त्यो पनि मनोरञ्जन विटको । तर, हामीले असहजपछिको सुनौलो भविष्य देखेका थियौं । त्यसैले असहजता स्वीकार्दै अनलाईन संचालनमा ल्यायौं ।

शुरुवाती दिनमा समाचार संकलनका क्रममा निकै असहज परिस्थिती थियो । ‘अनलाईनमा काम गर्नेहरु पनि पत्रकार हुन र !’ अग्रज पत्रकारहरु बजारमा यसै भनेको सुन्थ्यौं । तर, ति तिता अनुभवलाई स्वीकार्दै हामी निरन्तर अगाडी बढ्यौं । आज हामी खुसी छौं । किनकी अनलाईन पत्रकारिता अहिले सञ्चारको सबैभन्दा छिटो र सशक्त माध्यम बनेको छ । हिजो ‘अनलाईनमा काम गर्नेहरु पनि पत्रकार हुन र !’ भन्ने अधिकांश अग्रज पत्रकारहरु आज अनलाईनलाई आफ्नो पत्रकारिताको माध्यम बनाएका छन् । थुप्रै अनलाईनहरु खुलेका छन् । मनोरञ्जनलाई मात्रै विट बनाएर पनि थुप्रै अनलाईनहरु सञ्चालनमा छन् । त्यसमध्ये सेलिब्रेटी नेपाल डटकमले आफ्नो अलग्गै पहिचान स्थापित गर्न सफल भएको छ ।

सेलिब्रेटी नेपालले मनोरञ्जन क्षेत्रसँग सम्बन्धित हरेक गतिविधि/आबद्ध ब्यक्तिलाई महत्व दिँदै आएको छ । अझ मनोरञ्जन क्षेत्रमा भविष्य खोजिरहेका नव–प्रवेशी कलाकारहरुलाई हामीले विशेष स्थान दिँदै आएका छौं । समग्रमा भन्नुपर्दा नेपाली मनोरञ्जन क्षेत्रलाई अनुशासित, मर्यादित बनाउँदै यसको श्रीवृद्धि गर्नतर्फ नै हाम्रो सदैव प्रयास रहँदै आएको छ र रहनेछ पनि । सम्पूर्ण पाठकहरु, दर्शकहरु तथा शुभचिन्तकहरुको सुझाव हामीलाई सधै आवश्यक छ र त्यसको अपेक्षा पनि हामी सधै राख्नेछौं । हजुरहरुको सुझाव र प्रतिक्रियाले नै हामीलाई सही मार्गमा हिँडन र अझ परिस्कृत भएर अगाडी बढ्न प्रेरित गर्नेछ ।

हाम्रो टिमले सामाजिक कार्य र बिभिन्न इभेन्ट आयोजना गर्ने उदेश्यको साथ सेलिब्रेटी नेपाल प्रतिष्ठान पनी शुभारम्भ गरी सकेका छौँ। प्रतिष्ठानले अप्ठेरोमा परेका सेलिब्रेटीहरुको लागी विविध कार्यहरु गर्नेछ। सेलिब्रेटी नेपालले गाउँ गाउँमा चलचित्रको प्रवर्धन र प्रचार प्रसार संगै नेपाली मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने उदेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव'(NERUFF) नियमित रुपमा गर्दै आई रहेको छ। सेलिब्रेटी नेपालले यस्तै नेपाली चलचित्र गीत संगीतको साथै सेलिब्रेटीहरुको लागी विभिन्न कार्यहरु गर्दै जानेछ।
धन्यवाद ।
–सम्पादकीय