‘जय हो’ भन्दै केकी र सलोन पुगे कलेजमा



काठमाडौँ। आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जय हो’ टिम सोमबार कालोपुल स्थित जेभियर इन्टरनेशनल कलेजमा पुगेको छ । चलचित्रका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेत लगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् ।

कार्यक्रममा केकी र सलोनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको पहिलो दिनको अवसरमा नयाँ शैक्षिक यात्राको शुभकामना दिँदै भविष्यलाई अझ उज्जवल बनाउन कामना गरे । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले उनीहरुले शिक्षाका लागि परिचित जेभियरमा पुगेर चलचित्रको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए ।

चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको शीर्ष भूमिका छ । चलचित्रमा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ र सुशान्त श्रेष्ठले समेत अभिनय गरेका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स रहेको छ ।

चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ । चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।