अभिनेत्री कविताले कवितामै उतारिन् जीवनका भोगाई



काठमाडौँ । चलचित्र ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राई लगायतले कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरे ।

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाईका अनुभवहरु कविता मार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफुले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मनलागेको सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् ।

गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकमा ल्याउने सोच छ । नर्बेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् ।

‘भोलीका दिन म नरहुँला, समयले नदेला, ममा जोस नहोला, मेरो कविता त्यतिकै थन्किएर बस्ला’, उनले अगाडि थपिन् ‘जे जति कविता तयार भयो । त्यो सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ ।’ अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने सोच आफ्नो रहेको उनले सुनाइन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेत्री गुरुङको आँट र क्षमताको आफु सँधै प्रशंसक रहेको बताए । ‘कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन् । उनले लेख्न थालेपछि जानकारी दिइन्’, पराजुलीले भने ‘यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भएपनि राम्रो सुरुवात भयो ।’ कविताले पुस्तक पुरा गरेर सार्वजनिक गर्नेमा आफु आसावादी रहेको पराजुलीले बताए । त्यस्तै चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योती राइले अभिनेत्री गुरुङको कवितामा यर्थात र जीवन भोगाइका अनभुव भएकोले सबैको जीवनसँग कहिन कही मेल खाने रहेको बताए ।

कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबैकुराहरु’, ‘भेट्नुछ एकचोटी अव फेरि’ शीर्षकका तीन कविता समेत बाचन गरेर सुनाएकी थिइन् । अभिनेत्री गुरुङले गतबर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् । जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन् । अहिले सार्वजनिक कविता संग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ छ ।

कविता र उमेशलेसँग परिवारको सहमतीबीना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्बे पुगेका उनीहरुको प्रेमकथामा केहि बर्ष अगाडि ‘बोबी’ चलचित्र निर्माण भएको थियो । चलचित्रमा कविता र उमेश नै मुख्य भुमिकामा थिए । उनीहरुको जोडी र चलचित्र दर्शकले रुचाएका थिए ।
फोटो: सुरेन्द्र थापा